हरेक वर्षझैँ यसपटक पनि नयाँ वर्षको अवसरमा नेपाली फिल्म बजार तातिने संकेत देखिएको छ। चैत २७ गते एकैसाथ ‘राम नाम सत्य’, ‘३६ को आँकडा’ र ‘डल्लेले इन्ट्री मार्यो’ रिलिज हुने तयारीमा छन् भने बैशाख १ गते ‘पहाड’ प्रदर्शनमा आउनेछ।
तर, यीमध्ये ‘३६ को आँकडा’ भने सुरुदेखि नै अन्योलमा देखिएको छ। फिल्मको छायांकन सकिएर सम्पादन अन्तिम चरणमा पुगेको भए पनि अहिलेसम्म कुनै प्रचार सामग्री सार्वजनिक गरिएको छैन। न कलाकारहरू प्रचारमा सक्रिय देखिएका छन्।
फिल्मकी मुख्य अभिनेत्री रेखा थापा अहिले आफ्नै निर्देशनमा बनिरहेको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकनमा व्यस्त छिन्। यसले पनि फिल्मको प्रचार प्रभावित भएको देखिन्छ।

यता निर्देशक सवीर श्रेष्ठ भने फिल्मको रिलिज मिति सार्ने पक्षमा देखिएका छन्। चुनावका कारण समयमै प्रचार गर्न नपाएको र अब समय कम रहेको भन्दै उनले रिलिजबारे पुनर्विचार भइरहेको बताएका छन्। यद्यपि, निर्माण टिमका केही सदस्यहरू भने मिति नसार्ने पक्षमा छन्।
रेखा थापा र सवीर श्रेष्ठको संयुक्त निर्माणमा बनेको यस फिल्ममा निरूता सिंह, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निशा अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा रेखा थापा डिएसपीको भूमिकामा देखिँदैछिन् भने पूजा शर्मा उनकी बहिनीको भूमिकामा छिन्। दिदी–बहिनीबीचको कटु सम्बन्ध फिल्मको मुख्य कथा हो।
- अब केही दिनभित्रै ‘३६ को आँकडा’को रिलिज हुने कि सर्ने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ।











