आगामी चैत्र २७ गते रिलिज हुने सिनेमा **‘राम नाम सत्य’**को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक भएको १३ दिनमै युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ। निर्वाचनको माहोलबीच पनि गीतले युट्युब, टिकटक र रिल्समा ठूलो लोकप्रियता कमाइरहेको छ भने दर्शकले एक लाखभन्दा बढी टिकटक भिडियो बनाइसकेका छन्।
गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीकै संगीत रहेको छ। रोमान्टिक शैलीको गीतको भिडियोमा अभिनेता विराज भट्ट र अभिनेत्री सुपुष्पा भट्ट रोमान्टिक अवतारमा देखिएका छन्।
निर्देशक माइकल चन्दले निर्वाचनको समयमा गीत सार्वजनिक गर्दा पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको भन्दै खुसी व्यक्त गरेका छन्। एक्सन, सस्पेन्स र लभ स्टोरीमा आधारित यस सिनेमामा विराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा लगायत कलाकारको अभिनय छ।












