बैतडीमा नगद रकम र निर्वाचन प्रशिक्षण सामग्रीसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट सशस्त्र प्रहरीको गस्ती टोलीले सोही स्थानका ५२ वर्षीय भानदेव भट्टलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
उनको साथबाट नगद ७९ हजार पाँच सय रुपैयाँ र निर्वाचनसम्बन्धी प्रशिक्षण सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। निर्वाचनको मौन अवधिमा नगद रकम र नमूना मतपत्रसहित फेला परेपछि सशस्त्र प्रहरीले भट्टलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो।
हाल पक्राउ परेका भट्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा भट्टले आफू नेपाली कांग्रेसको कार्यकर्ता भएको बताएका छन्। प्रहरी निरीक्षक सिंहका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

यता नेपाली कांग्रेस बैतडीले भने भानदेव भट्टसहित केही व्यक्तिहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्तासँग मिलेर मतदातालाई पैसा बाँडिरहेको भन्ने सूचना प्राप्त भएकाले निगरानीका लागि मंगलबार नै स्थानीय प्रशासनलाई पत्र पठाएको जनाएको छ। कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दका अनुसार भट्ट पार्टीको आधिकारिक लाइनविपरीत गतिविधिमा संलग्न भएपछि प्रशासनलाई जानकारी गराइएको हो।











