काठमाडौं । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रभाव तीव्र बन्दै जाँदा फेसबुक विज्ञापनमा उल्लेख्य रकम खर्च भएको देखिएको छ।
Meta Platforms ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा नेपालबाट मात्रै फेसबुक विज्ञापनमा ३८ हजार ८६७ अमेरिकी डलर खर्च भएको छ। मंगलबारको विनिमय दरअनुसार यो रकम करिब ५७ लाख रुपैयाँभन्दा बढी हुन आउँछ।
उक्त अवधिमा सबैभन्दा बढी खर्च गर्नेमा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे अग्रस्थानमा देखिएका छन्। ‘क्षितिज थेबे’ नामक पेजबाट १ हजार ४१२ डलर र ‘क्षितिज थेबे जिताऔँ अभियान’ पेजबाट १ हजार ११४ डलर खर्च भएको छ। यसरी थेबे सम्बद्ध पेजहरूबाट कुल २ हजार ५२६ डलर विज्ञापनमा खर्च भएको देखिन्छ।

त्यस्तै साझा पार्टी ले सोही अवधिमा १ हजार ३४१ डलर खर्च गरेको छ भने डा. अजय क्रान्तिले १ हजार ३१७ डलर खर्च गरेका छन्।
यस अवधिमा कास्की–२ का कुशल गुरुङले १ हजार ११५ डलर, सोमप्रसाद पाण्डेले १ हजार ४८ डलर र ‘देशको आशा’ नामक पेजबाट १ हजार ३० डलर खर्च भएको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै नारायणकाजी श्रेष्ठ सम्बद्ध विज्ञापनमा १ हजार १६ डलर खर्च भएको देखिन्छ।
‘माई भ्वाइस काउन्ट’ पेजबाट ९२० डलर र ‘रुटिन अफ झापा–५’ बाट ९०५ डलर खर्च भएको छ। यसका अतिरिक्त ‘स्ट्र होल्डिङ’, ‘हाम्रो आवाज’ र ‘नयाँ बाटो’ लगायतका पेजहरूले पनि छुट्टाछुट्टै रूपमा उल्लेख्य रकम खर्च गरेका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवार तथा राजनीतिक दलहरूले डिजिटल माध्यमलाई प्राथमिकता दिँदै प्रचार–प्रसारलाई आक्रामक बनाएको देखिन्छ। सामाजिक सञ्जाल अहिले चुनावी प्रतिस्पर्धाको प्रमुख मैदानका रूपमा स्थापित हुँदै गएको विश्लेषकहरू बताउँछन्।











