कैलाली , दार्चुला जिल्लाको धार्मिक आस्था र सांस्कृतिक पहिचान बोकेको पवित्र धाम मालिकार्जुन मन्दिरको महिमालाई समेट्दै तयार गरिएको भक्तिमय गीत ‘जय जय मालिकार्जुन’ सार्वजनिक भएको छ। सुदूरपश्चिमको धार्मिक पर्यटन र मौलिक संस्कृतिलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको यस गीतले दर्शक–श्रोतामाझ छुट्टै आकर्षण सिर्जना गर्ने विश्वास गरिएको छ।
बिनोद सिंह थापाको निर्देशनमा तयार भएको गीतमा गायक महेश विक्रम सामन्तको स्वर, शब्द, लय र अभिनय एकै साथ देख्न सकिन्छ। मालिकार्जुन भगवानप्रतिको आस्था, दर्शन र दार्चुलाको धार्मिक वातावरणलाई गीतमार्फत सजीव ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा कलाकार अन्जु धामीको सशक्त अभिनयले कथालाई थप जीवन्त बनाएको छ भने बाल कलाकार रियाना सामन्तको उपस्थितिले गीतलाई भावनात्मक तथा पारिवारिक रंग दिएको छ।
लाक्पा तामाङको छायांकन रहेको यस गीतको दृश्यांकन मालिकार्जुन मन्दिरमा लाग्ने ऐतिहासिक मेला, धार्मिक अनुष्ठान र दार्चुला जिल्लाका विभिन्न रमणीय तथा पर्यटकीय स्थानहरूमा गरिएको छ। हिमाली परिवेश, धार्मिक वातावरण र स्थानीय संस्कृतिको सुन्दर संयोजनले भिडियो हेर्दा दर्शकलाई मालिकार्जुन धामको प्रत्यक्ष अनुभूति हुने गरी प्रस्तुत गरिएको छ।
धार्मिक आस्था, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकै साथ जोड्ने प्रयासस्वरूप निर्माण गरिएको ‘जय जय मालिकार्जुन’ गीत गायक महेश विक्रम सामन्तको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएसँगै सुदूरपश्चिमेली दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ भने यसले मालिकार्जुन धामको महिमा देश–विदेशसम्म फैलाउन थप टेवा पुग्ने विश्वास लिइएको छ।












