संगीत, कला, समाजसेवा र पत्रकारितामा योगदान पुर्याउने व्यक्तित्व सम्मानित
धनगढी ।
सुप इन्टरटेनमेन्ट हाउस प्रा.लि. तथा बाडुल्की मिडिया हाउस प्रा.लि.को संयुक्त आयोजनामा चौथो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। अवार्ड समारोहमा संगीत र कलासँगै साहित्य, स्वास्थ्य, पर्यटन, समाजसेवा तथा पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टा र व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
सुप इन्टरटेनमेन्ट हाउस प्रा.लिका अध्यक्ष सुन्दर चन्द (अनुप) को सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रमेश सिंह धामी प्रमुख अतिथि रहेका थिए। उनले कला, संस्कृति र संगीत समाज परिवर्तनका सशक्त माध्यम भएको उल्लेख गर्दै यस्ता अवार्ड कार्यक्रमले सर्जकहरूको हौसला र सिर्जनशीलता बढाउने बताए।
समारोहमा विभिन्न विधामा कलाकार तथा स्रष्टाहरू सम्मानित भएका छन्।
सर्वोत्कृष्ट भाषाभाषी गीत अभिनय पुरुषतर्फ रमेश सिलाल (मुटु खाने मायाजाल), महिलातर्फ मन्नु भट्ट (ओइ कान्छी) तथा जुरीबाट सुनिता बिक (रगत मिसिजाउ) सम्मानित भए।

यसैगरी, प्रेम बोगटी ले सर्वोत्कृष्ट उद्घोषक २०८२ को अवार्ड प्राप्त गरे। भाषाभाषी गीत गायन पुरुषतर्फ डिल्ली राज जोशी (के आइसिङ घुमिजाजा) र महिलातर्फ सनम परियार (तम्रै पिरले) सम्मानित भए।
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनतर्फ मासुम बिष्ट (ए रूपा) तथा भाषाभाषी गीत सर्जकतर्फ क्रिश भण्डारी (किन लाग्छ यति माया) सम्मानित भएका हुन्।
देउडा तथा भाषाभाषी गीतका अन्य विधामा पनि उल्लेखनीय स्रष्टाहरू पुरस्कृत भए। भाषाभाषी गीत गायन पुरुषतर्फ सेरी औजी (ए रूपा) र महिलातर्फ रूपा बुढा (रातो किताब) सम्मानित भए। देउडा गीत अभिनय पुरुषतर्फ भूपी उपाध्याय (रसिलो मसिलो) र महिलातर्फ कविता खड्का (बड्डो र लाहुरे) चयन भए।
त्यस्तै, म्युजिक भिडियो छायाङ्कनतर्फ गणेश साउद (पागल हुन्छ मन), भाषाभाषी गीत अभिनय पुरुषतर्फ भानु चौधरी (कत्रा तर्पु) र महिलातर्फ पुष्पा बडैला (कसिछौ ओ मैना) सम्मानित भए।
कला पत्रकारितातर्फ सन्तोष पाण्डेय (जुरी), चन्द्र मल्ल (पब्लिक च्वाइस) र भक्तराज जोशी उत्कृष्ट घोषित भए।
देउडा गीत गायन पुरुषतर्फ सुनिल नेपाली (एक घुट्को बाडुली) र महिलातर्फ गौरी भट्ट (लेक ठूलो तेलेको) सम्मानित भए। सर्वोत्कृष्ट देउडा गीत २०८२ को अवार्ड धरतीको स्वर्ग र जुरीतर्फ छुट्टिन गाह्रो भो ले प्राप्त गरेको छ।
कार्यक्रममा सामाजिक तथा पेशागत योगदानको कदर गर्दै विभिन्न विशिष्ट सम्मान पनि प्रदान गरियो।
लाइफटाइम एचिभमेन्ट सम्मान टेक बहादुर ऐर, पर्यटन प्रवर्द्धन सम्मान माया प्रकाश भट्ट, शैक्षिक सम्मान प्रेमनिधी ओझा, कला पत्रकारिता सम्मान हिक्मत रावल र गायिका सम्मान हरिना साउद लाई प्रदान गरियो।
त्यसैगरी, दर्शक साहित्य सम्मान हेमन्त बिवस, समाजसेवा सम्मान कल्पना भट्ट, स्वास्थ्य सेवा सम्मान डा. विवेक जोशी र कला सम्मान के.पी. कलौनी बाट सम्मानित भए भने (लाइफटाइम एचिभमेन्ट सम्मान) को नगद राशि एक्सपर्ट एजुकेसन भिसा सर्भिसेस धनगढ़ी ले प्रदान गरेको थियो ।

अवार्ड प्राप्त स्रष्टा तथा प्रतिभाहरूको छनोट तीन सदस्यीय निर्णायक समितिले गरेको थियो। समितिमा संयोजक वरिष्ठ गायक नरेन्द्र राज रेग्मी, सदस्य पत्रकार खेमराज उपाध्याय र वरिष्ठ निर्देशक भीम थापा रहेका थिए। निर्णायक समितिले निष्पक्ष, पारदर्शी र योगदानमा आधारित मूल्याङ्कन प्रक्रिया अपनाइएको जनाएको छ।
कार्यक्रममा कलाकार, पत्रकार, साहित्यकार, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक संस्थाले आगामी वर्षहरूमा अवार्डलाई अझ व्यवस्थित, राष्ट्रियस्तरमा प्रभावशाली र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।











