महेन्द्रनगर।
कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यसमिति निर्वाचन अन्तर्गत शनिबार कोषाध्यक्ष तथा सदस्य पदका लागि मतदान हुँदैछ। कोषाध्यक्ष पदमा प्रदीप पाल र सिद्धराज भट्टबीच प्रतिस्पर्धा हुने भएको छ।
संघको पदाधिकारी पदमा सहमति जुटे पनि कोषाध्यक्षमा सहमति गराउन लामो समय प्रयास गरिएको थियो। यसैक्रममा कोषाध्यक्षका उम्मेदवार मिनराज भट्टले उम्मेदवारी फिर्ता लिएपछि पाल र भट्टबीच प्रतिस्पर्धा निश्चित भएको हो। पाल संघका वर्तमान सदस्य हुन् भने भट्ट पूर्व सदस्य हुन्।

कोषाध्यक्षका उम्मेदवार प्रदीप पालले जिल्लाभरका सदस्य व्यवसायीहरूसँग भेटघाट गर्दै चुनावी सहयोगको आग्रह गरेका छन्। सबै क्षेत्रका मतदातासम्म पुगेको र सकारात्मक आश्वासन पाएको उनको दाबी छ।
‘मैले जिल्लाभरिका सदस्य व्यवसायीहरूसँग भेट गरी सहयोगको आग्रह गरेको छु। सबैबाट राम्रो प्रतिक्रिया पाएको छु,’ पालले भने, ‘संघमा युवाको सहभागिता आवश्यक छ भन्ने भावना देखिएको छ।’
पालले संघको कोष व्यवस्थापनलाई मजबुत बनाउने, व्यवसायीलाई संगठित गर्ने, व्यवसायिक हक–हितका लागि सक्रिय भूमिका खेल्ने, पुराना व्यवसायीलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने एजेन्डा अघि सारेका छन्।
कोरोना महामारीपछि व्यापार व्यवसाय धराशायी भएकाले व्यवसायीको मनोबल उकास्नु र विदेश पलायन रोक्नु प्रमुख चुनौती भएको उनले बताए। संघको पदाधिकारी बनेपछि कोरोनापछि प्रभावित व्यवसाय उकास्न र पलायन रोक्न सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ।
‘संघको सदस्यको हैसियतमा जस्तै पदाधिकारी बनेपछि पनि म सधैं व्यवसायीको हक–हित र अधिकारका पक्षमा रहनेछु,’ उनले भने।
पाल कञ्चनपुर उद्योग वाणिज्य संघको १७औँ कार्यसमिति निर्वाचनबाट सदस्य निर्वाचित भएका थिए। २०७४ सालमा संघको सदस्यता लिएका उनी प्रदीप ट्रेडर्स का सञ्चालक हुन्।
बेदकोट नगरपालिका–९, सुन्दरपुरका पाल सानैदेखि व्यापार व्यवसायमा संलग्न छन्। उनका बुवा मान सिंह पालको तत्कालीन रौतेली विचवा गाविसको अण्डैया–पटैयामा चिया तथा किराना पसल थियो। पालले १० वर्षको उमेरदेखि नै बुवाको पसलमा चिया बेच्दै व्यवसायिक जीवन सुरु गरेका थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष) विस्तारका क्रममा पाल परिवार विस्थापित भई बेदकोट पुगेको थियो। परिवारले हालसम्म पनि जग्गा सट्टाभर्ना पाउन नसकेको बताइन्छ।
पाल कक्षा ६ देखि भीमदत्त नगरपालिका–१२ स्थित पूर्णा माध्यमिक विद्यालयमा अध्ययनरत थिए। व्यवसायसँगै उनी विभिन्न सामाजिक संघ–संस्थामा पनि आवद्ध छन्।
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सके आर्थिक समृद्धि सम्भव हुने उनको धारणा छ। उनले डोटीको बीपी नगरमा उत्पादन भएको अदुवा भारतसम्म पुर्याएर बजारीकरणमा योगदान दिएको उदाहरण पनि प्रस्तुत गरेका छन्।











