अछाम– साँफेबगर नगरपालिकाले आगलागी नियन्त्रण क्षमतामा सुधार ल्याउने उद्देश्यले दमकल (वारुण यन्त्र) खरिद गर्ने निर्णय गरेको छ। नगर प्रमुख राजेन्द्र बहादुर कुँवरका अनुसार आवश्यक प्रक्रिया अघि बढिसकेको र बजेट व्यवस्था समेत पूरा भइसकेको छ।
जिल्लामा बढ्दो आगलागी जोखिमलाई उल्लेख गर्दै प्रमुख कुँवरले दमकल व्यवस्था अब नगरको अत्यावश्यक आवश्यकता बनेको बताउनुभयो। उहाँले सामूहिक तयारी र प्रभावकारी व्यवस्थापनले जनसुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।
यसैगरी, कार्यपालिकाको वैठकले साँफे हाटबजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि अनुमोदन गरेको छ।

चालु वर्ष वैशाख १३ र कात्तिक १५ मा दुई पटक ठूलो आगलागी हुँदा हाटबजारमा करोडौं रुपैयाँको क्षति पुगेको थियो।
नगरपालिकाका निर्णयहरूले आगलागी जोखिम व्यवस्थापन र पुनःस्थापनामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।











