धनगढी धनगढीमा कम्प्युटर व्यवसाय गर्दै आएका नरेश धामी मृत फेला परेका छन्। उनी धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी जंगलमा मृत अवस्थामा भेटिएका हुन्।
धामी धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका थिए। उनी कात्तिक ३ गते सोमबार साँझ करिब ७ बजेदेखि बेपत्ता भएका थिए। परिवारका सदस्यहरूका अनुसार, सोमबार दिनभर उनले आफ्नै पसलमा काम गरेपछि साँझ कोठाबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए भने उनको मोबाइल पनि बन्द थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धामीको शव मंगलबार बिहान शिवपुरी जंगलमा फेला परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

स्थानीयहरू र व्यापारी समुदायले घटनाप्रति दुःख व्यक्त गर्दै छिटो सत्य तथ्य बाहिर ल्याउन प्रहरीसँग माग गरेका छन्।











