कैलाली, असोज २३ – फूलपातीको मौका पारेर असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ बीच बक्स अफिसमा रोचक प्रतिस्पर्धा चलिरहेको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार, अभिनेता समिर भट्टको मुख्य अभिनय रहेको ‘बलिदान’ ले आठ दिनमै देशभरबाट ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ ग्रस कमाइ गर्दै पहिलो स्थान कब्जा गरेको छ।

त्यसको नजिकै हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कमाएर दोस्रो स्थानमा उक्लिएको छ। यी दुई चलचित्रबीच करिब ५० लाख रुपैयाँको ग्रस अन्तर रहेको देखिन्छ।
त्यस्तै, माग्ने बुढा (केदार प्रसाद घिमिरे) अभिनित ‘माइतीघर’ ले पनि निरन्तर राम्रो व्यापार गरिरहेको छ। फिल्मले आठ दिनमा २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ।
हाल ‘बलिदान’ अग्रस्थानमा रहे पनि यसको उच्च बजेट (करिब ६ करोड) का कारण लगानी सुरक्षित गर्न अझै चुनौती देखिएको छ। विश्लेषकहरूका अनुसार, फिल्मले ब्रेक–इभनमा पुग्नका लागि १४ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्नुपर्नेछ।
ग्रसको आधा मात्र निर्माता पक्षमा पर्ने र कर कटौती पनि हुने भएकाले, फिल्मले ओभरसिज र डिजिटल अधिकार बिक्रीबाट थप आम्दानी गर्नुपर्ने अनुमान गरिएको छ।
उता, तुलनात्मक रूपमा सस्तो लागतमा बनेका ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले भने हालको कमाइको गतिमा लगानी सुरक्षित गर्न सक्ने सम्भावना बलियो देखिएको छ !











