
धनगढी–धनगढीको शिवपुरी धाममा सञ्चालन भइरहेको कपडा बैंकलाई हालै ६४ थान कपडा सहयोग गरिएको छ। जावलाखेल डिस्टिलरी प्रा. लि.का एरिया म्यानेजर तारा दत्त पन्तले कपडा बैंकमै पुगेर प्रत्यक्ष सहयोग गरेका हुन्।
धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित शिवपुरी धाममा २०७६ साल साउनदेखि सञ्चालनमा आएको कपडा बैंकले संकलित कपडाहरू विपन्न तथा आवश्यकता भएका नागरिकहरूमा वितरण गर्दै आएको छ। कपडा बैंक स्थापना गर्ने मुख्य उद्देश्य भनेको “हुनेले सहयोग गर्ने, नहुनेले सहयोग पाउने” सुनिश्चित गर्नु हो।
स्थानीय समुदाय पनि नियमित रूपमा कपडा सहयोग गर्दै आएको छ। यसले विपन्न नागरिकको जीवनमा राहत पुर्याउने मात्र नभई समाजमा साझा सहयोगको भावना प्रवर्धन गर्ने काम पनि गरेको छ।
कपडा बैंकमार्फत संकलित कपडा नियमित रूपमा आवश्यकता अनुसार वितरण गरिन्छ, जसले गरिब, ज्याला मजदुर र अन्य आर्थिक रुपमा कमजोर परिवारहरूलाई जाडो मौसममा राहत पुर्याउँछ। आयोजकहरूले सहयोगकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै समाजमा यस्ता पहलहरू निरन्तर गर्न आग्रह गरेका छन्।
तारा दत्त पन्तले यस अवसरमा भने, “सामान्य सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। हामीले स–साना तर महत्वपूर्ण कदम चाल्दै समाजलाई सकारात्मक बनाउने प्रयास गरिरहेका छौं।”
कपडा बैंकका व्यवस्थापकहरूले भने, “स्थानीयको सक्रिय सहभागिताले मात्र हाम्रो अभियान सफल भएको हो। भविष्यमा पनि आवश्यकता अनुसार सहयोगको निरन्तरता रहनेछ।”
बाजुरा । त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनीले वडा नं. १ र २ का वडा कार्यालय, विद्यालय तथा सञ्चालनमा रहेका विभिन्न विकास योजनाको अनुगमन गरेका छन्। अनुगमनको क्रममा सेवाप्रवाह, शैक्षिक अवस्था र अन्य विकास परियोजनाबारे जानकारी लिइएको नगरपालिकाले जनाएको छ।
अनुगमन कार्यक्रमसँगै, वडा नं. २ स्थित घासेगडामा जर्मन सहयोग नियोगको आयोजनामा सम्पन्न चेतनामूलक नाटक कार्यक्रममा पनि नगर प्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत मौनीको उपस्थिति रहेको वडा नं. २ का अध्यक्ष विरबहादुर विकले जानकारी दिएका छन्।
नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहका सेवा प्रवाह, योजना सञ्चालन र जनचेतनामा यस प्रकारको अनुगमन तथा कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
महेन्द्रनगर–लामो समयदेखि नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा सक्रिय कलाकार दिनेश बोहरा फेरि एकपटक दर्शकसामु नयाँ गीत ‘चुप्पा खाया’ मार्फत प्रस्तुत भएका छन्। औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतले प्रेम, भावना र युवापुस्ताको मनोविज्ञानलाई मौन र संवेदनशील शैलीमा चित्रण गरेको छ।
गीत सार्वजनिक भएसँगै यसले दर्शक तथा श्रोताको ध्यान तान्न सफल भएको छ।
‘चुप्पा खाया’ बोलको गीतमा स्वर, र्याप तथा शब्द–संगीतको जिम्मेवारी कलाकार रोशन पन्तले सम्हालेका छन्। उनको फरक शैलीको र्याप र भावनात्मक शब्द–संगीतले गीतको भावलाई गहिरो बनाएको छ। प्रेममा रहेका युवा–युवतीका मनभित्र दबिएका पीडा र मौनतामा लुकेको प्रेमकथालाई गीतले प्रभावकारी रूपमा उजागर गरेको छ।
गीतको एरेन्ज तथा मिक्सिङ विषम आचार्यले गरेका छन् भने रेकर्डिङ हाम्रो स्टुडियोमा गरिएको हो। आधुनिक एरेन्जमेन्ट र सन्तुलित मिक्सिङ–मास्टरिङले गीतलाई प्राविधिक रूपमा पनि सबल बनाएको छ, जसले गर्दा गीत डिजिटल प्लेटफर्मदेखि रेडियोसम्म सहज रूपमा सुन्न योग्य बनेको छ।
म्युजिक भिडियोमा दिनेश बोहरासँगै कलाकार दिपा शाहीको पनि मुख्य अभिनय रहेको छ। दुवै कलाकारको अभिनयले गीतको कथालाई जीवन्त बनाएको छ। दिपा शाहीले प्रेममा परेको संवेदनशील पात्रलाई सशक्त ढंगले प्रस्तुत गरेकी छन्, जसले दिनेश बोहराको पात्रलाई अझ बलियो बनाएको देखिन्छ।
‘चुप्पा खाया’ लाई दिनेश बोहराको अभिनय यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अभिनयमार्फत भावना व्यक्त गर्ने उनको शैली यस गीतमा झनै परिष्कृत र प्रभावशाली देखिन्छ।





