
बर्दिया, कात्तिक २७ –
नवजीवन सहकारी संस्था लिमिटेडले आजदेखि बाँसगढी सेवा केन्द्रबाट पनि धान खरिद सुरु गरेको छ। यस वर्ष सहकारीले किसानको उत्पादनलाई उचित मूल्यमा खरिद गर्ने लक्ष्यसहित तीन स्थानबाट संकलन कार्य अघि बढाएको छ।
सहकारीका सदस्य गोपाल पाठकका अनुसार, यस वर्ष धान खरिद कार्य गोदावरी नगरपालिका–मजगाउँ (कैलाली), कैलारी गाउँपालिका–२ उजलिसिमरा (कैलाली) र बाँसगढीको डेउढाकला (बर्दिया) गरी तीन स्थानमा सञ्चालन भइरहेको छ।
पाठकले बताएअनुसार सहकारीले किसानलाई बजारको पहुँच र न्यूनतम समर्थन मूल्यको सुनिश्चिततामा सहयोग पुर्याउने उद्देश्यका साथ खरिद अभियान सुरु गरेको हो।
उनका अनुसार किसानका उत्पादनमा सहज बिक्री व्यवस्थापन र पारदर्शी मूल्य प्रणाली नै सहकारीको मुख्य प्राथमिकता रहेको छ।
काठमाडौं, कात्तिक २७ –
नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करणको क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना जारी गर्दै पहिलो चरणमा प्रतियोगिताको प्रारम्भिक ६ दिनका खेलका लागि टिकट बिक्री खुला गरेको जनाएको छ।
क्यानका अनुसार खेल आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने छ। क्रिकेट प्रेमीहरू अब अनलाइन र काउन्टर दुवै माध्यमबाट टिकट खरिद गर्न सक्नेछन्।
दोस्रो संस्करणको NPL लाई यस वर्ष नेपाल क्रिकेटको महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ, जहाँ देशका शीर्ष खेलाडीहरू र विदेशी स्टारहरू मैदानमा देखिने अपेक्षा गरिएको छ।
बैतडी ।
बैतडीको सुर्नया गाउँपालिकामा जारी तालाबन्दी तत्काल खोल्न सकिने जेनजी तथा जेनवाई समूह सुर्नयाले जनाएको छ । समूहले आफ्ना ११ बुँदे माग सम्बोधन गर्ने ग्यारेन्टी भए तत्काल तालाबन्दी अन्त्य गर्न तयार रहेको जनाएको हो ।
सुर्नया–२ सतबाँझमा बिहीबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहका अगुवा विशाल भट्टले गाउँपालिकामा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र आम नागरिकको पहुँच सुनिश्चित गर्न तालाबन्दी गरिएको बताए । उनले भने, “हाम्रा मागहरु वैधानिक र जनहितमा आधारित छन् । ती माग पूरा गर्ने ग्यारेन्टी भए ताला तुरुन्तै खोल्न तयार छौं ।”
गाउँकार्यपालिका एकमत नभएकै कारण समस्या दीर्घकालीन बनेको भट्टको भनाइ थियो । उनका अनुसार, गाउँपालिकाले तत्काल सम्बोधन गर्न सकिने मागहरूमा निर्णय गर्न ढिलाइ गरेको र अन्य माग पूरा गर्ने स्पष्ट प्रतिबद्धता पनि नदिँदा तालाबन्दी लम्बिएको हो ।
जेनवाई समूहका अगुवा देवबहादुर चन्दले चार पटक वार्ता भए पनि कार्यपालिका एकमत नहुँदा निष्कर्षमा पुग्न नसकिएको बताए । उनले भने, “गाउँपालिकाको सरकार नै जिम्मेवार भएर नआएपछि तालाबन्दी अझै खुल्न सकेको छैन ।”
समूहले अघि सारेका प्रमुख मागहरूमा —
- दरबन्दीविहिन कर्मचारीको व्यवस्थापन,
- बेरुजु रकम असुल उपर,
- स्थानीय युवा परिषद् गठन,
- सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ,
- मदिरा विक्री–वितरणमा नियमन,
- जेनजी शहीद परिवारलाई सहयोग, र
- पालिकास्तरीय खेलमैदान निर्माण
जस्ता विषयहरू रहेका छन् ।
पत्रकारहरूले करार कर्मचारी हटाउने विषयमा प्रश्न गर्दा भट्टले व्यक्तिगत रूपमा कसैलाई लक्षित नगरेको स्पष्ट पारे । तर संघीय परिपत्र र प्रचलित ऐन कानुन विपरीत नियुक्त कर्मचारी हटाउनुपर्ने जिम्मेवारी पालिकाकै भएको बताए ।
जेनजी समूहका अगुवा हरिश कुँवरले पनि स्थानीय सरकार जिम्मेवार भएर वार्ता टेबलमा आउनुपर्नेमा जोड दिए । “हामी शान्तिपूर्ण समाधान चाहन्छौं, तर माग सम्बोधन नगरी जबरजस्ती ताला खोले परिस्थिति अर्कै हुनेछ,” कुँवरले चेतावनी दिए ।
सुर्नया गाउँपालिकामा असोज २४ गतेदेखि तालाबन्दी जारी छ । समूहले गाउँपालिकाले मागअनुसारका सूचना उपलब्ध नगराएको र ११ बुँदे माग बेवास्ता गरेको आरोप लगाएको छ । लामो समयदेखि जारी तालाबन्दीका कारण गाउँपालिकाबाट प्रदान हुने सबै सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् ।
गाउँपालिकाले जेनजी समूहका मागमध्ये धेरैजसो सम्बोधन गर्न तयार रहेको बताउँदै सहमतिको ड्राफ्टसमेत तयार पारेको जनाएको छ । तर कार्यपालिकामै मतभेद कायम रहँदा समस्या समाधानमा ढिलाइ भइरहेको स्रोतले जनाएको छ ।
लिस्बन (पोर्चुगल) । पोर्चुगलस्थित नेपाली दूतावासले हाल नेपाल र मध्यपूर्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूलाई कामदार भिसाका नाममा भइरहेको ठगी गतिविधिबाट सावधान रहन आग्रह गरेको छ।
बुधबार साँझ जारी गरेको विज्ञप्तिमा दूतावासले पोर्चुगल सरकारले यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि उच्च दक्ष (Highly Skilled) कामदार बाहेकका सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरिसकेको जनाएको छ।
दूतावासले यस्तो अवस्थामा केही व्यक्तिहरूले पोर्चुगलमा रोजगारीको प्रलोभन देखाएर गैरकानुनी रूपमा पैसा असुल्ने प्रयास गरिरहेको जानकारी आएको भन्दै सो प्रकारका ठगीबाट जोगिन सबैलाई अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएको छ — “कामदार भिसा बन्द भइसकेको अवस्थामा सो नाममा कोही पनि पोर्चुगल आउन वा पठाउन सक्दैनन्। यस किसिमका गैरकानुनी गतिविधिमा संलग्न नहुन र नपर्न सबैलाई चेतावनी दिइन्छ।”
दूतावासले पोर्चुगलमा आउन चाहने नेपालीलाई आधिकारिक सूचना, वेबसाइट र दूतावासका प्रत्यक्ष स्रोतबाट मात्रै जानकारी लिन आग्रह गर्दै ठगीमा परे कानूनी कारबाहीमा सहयोग गर्न समेत आग्रह गरेको छ।





